काठमाण्डाै । एनसेलले प्रतिष्ठित आइएसओ २७००१:२०२२ (सूचना सुरक्षा व्यवस्थापन प्रणाली – ISMS) र आइएसओ २७७०१:२०१९ (गोपनीयता सूचना व्यवस्थापन प्रणाली – PIMS) को मान्यता प्राप्त गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
यो उपलब्धिसँगै, एनसेल नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ, जसले सूचना सुरक्षा र गोपनीयताका क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ। यसले डेटा सुरक्षा र गोपनीयताप्रति एनसेलको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ। एनसेलको डेटा सेन्टर, ग्राहक सेवा, र आईटी सेवाहरूले यी मान्यताहरू प्राप्त गरेका हुन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यो उपलब्धिलाई टेलिकम क्षेत्रमा उत्कृष्टताको नयाँ आधारस्तम्भ भने। उनले भने,“यी मान्यताहरू हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने महत्वपूर्ण कोसेढुङ्गा हुन्। यसले गुणस्तर र सुरक्षाप्रति हाम्रो अडिग प्रतिबद्धतालाई उजागर गर्दछ। हाम्रो टिमको समर्पण र डेटा गोपनीयताका उच्च मापदण्ड कायम राख्न योगदान दिएकोमा गर्व छ।”
आइएसओ २७००१ मान्यताले ग्राहक र साझेदारहरूको डेटा साइबर जोखिम र अनधिकृत पहुँचबाट सुरक्षित राख्न एनसेलले अपनाएको सशक्त उपायहरूलाई प्रमाणित गर्छ। यस्तै, आइएसओ २७७०१ मान्यताले व्यक्तिगत डेटा सुरक्षा, उल्लंघन जोखिम कम गर्न, र गोपनीयताका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको पालना सुनिश्चित गरेको छ।
यी प्रमाणपत्रहरूले एनसेलको पारदर्शिता र जवाफदेहितालाई झल्काउँछन्। यसले ग्राहकहरूलाई उनीहरूको डेटा सुरक्षित रहेको प्रत्याभूति दिँदै एनसेलप्रति विश्वासलाई थप मजबुत बनाएको छ।
एनसेलका प्रणालीहरू सम्भावित अवरोधहरू न्यून गर्न, जोखिम व्यवस्थापनमा सुधार गर्न, र व्यवसाय निरन्तरता सुनिश्चित गर्न डिजाइन गरिएका छन्। एनसेलले सूचना सुरक्षा र गोपनीयतालाई आफ्नो सेवा सञ्चालनको प्रमुख प्राथमिकतामा राख्दै ग्राहक र व्यावसायिक क्लाइन्टहरूलाई भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
आइएसओ मान्यतासहित, एनसेलले नेपालमा दूरसञ्चार क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै डेटा सुरक्षा र गोपनीयताका उच्चतम अभ्यासहरूको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।