काठमाण्डाै । नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच मुलुकको औद्योगिक विकासमा वैज्ञानिक सहकार्य गर्ने उद्देश्यका साथ विशेष छलफल सम्पन्न भएको छ।
नास्टका तर्फबाट विभिन्न अनुसन्धान, प्रविधि नवप्रवर्तन, र विकास कार्यक्रममार्फत सहकार्य गर्ने प्रस्ताव महासङ्घलाई प्रस्तुत गरिएको छ। छलफलमा नास्टका उपकुलपति प्रा. डा. दिलीप सुब्बा र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी भएका थिए।
नास्टले महासङ्घसँग सहकार्य गर्नका लागि निम्न प्रस्तावहरू पेस गरेको छ:
- नवप्रवर्तन वृत्ति र युवा वैज्ञानिकलाई अनुसन्धान सहयोग।
- ब्रेन पुलिङ र स्नातकोत्तर शोध अनुदान।
- वैज्ञानिक संस्था आर्थिक सहयोग तथा वैज्ञानिक यात्रा अनुदान।
- अनुसन्धान तथा विकास परियोजनामा उद्योग क्षेत्रको प्रायोजन।
- नवप्रवर्तन इकोसिस्टम सेन्टर स्थापना तथा सञ्चालन।
छलफलका क्रममा महासङ्घका अध्यक्ष ढकालले नास्टको प्रस्तावलाई स्वागत गर्दै यस विषयमा अध्ययन गरी सहकार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले भने, “नास्टले महासङ्घसँग गर्न खोजेको सहकार्य औद्योगिक विकासका लागि महत्त्वपूर्ण छ। यसबारे विस्तृत छलफल गरी ठोस योजनासहित अघि बढ्न सकिन्छ।”
यसैबीच, नास्टका उपकुलपति प्रा. डा. सुब्बाले वैज्ञानिक टोली तथा देशविदेशमा रहेका विज्ञहरूको ज्ञानलाई अनुसन्धान र विकासमा परिचालन गर्न महासङ्घसँगको सहकार्यले ठोस परिणाम दिने विश्वास व्यक्त गरे। “महासङ्घ जस्तो संस्था हाम्रो लागि उपयुक्त साझेदार हो। यसले मुलुकको औद्योगिक विकासमा सकारात्मक योगदान पुर्याउनेछ,” उनले भने।
यो छलफलले नेपालमा औद्योगिक विकास र वैज्ञानिक नवप्रवर्तनको क्षेत्रमा दीर्घकालीन साझेदारीको आधार तयार गर्ने अपेक्षा गरिएको छ।