काठमाडौं। नेपाल टेलिकमले ग्राहक प्रतिनिधिको काम गर्नका लागि ‘मैना’ नामक रोबोट सुन्धारास्थित कार्यालयमा राखेको छ। आइतवार आयोजित विशेष कार्यक्रममार्फत टेलिकमले यस रोबोटको औपचारिक उद्घाटन गरेको हो।
‘बलियो भेन्चर’ नामक कम्पनीले निर्माण गरेको यो रोबोटले टेलिकमका सेवासम्बन्धी जानकारी, नयाँ प्याकेजहरू र कार्यालयमा आउने सेवाग्राहीका जिज्ञासाहरू समाधान गर्न सक्षम रहेको जनाइएको छ।
मैना रोबोट प्रयोग गर्नका लागि ग्राहकले रोबोटको अगाडि गई डिस्प्लेमा रहेको ‘अगाडि बढ्नुहोस्’ बटनमा ट्याप गर्नुपर्छ। त्यसपछि रोबोटसँग प्रश्न गर्न सकिन्छ, जसका उत्तर रोबोटले तत्काल दिन्छ।
यो रोबोट एक प्रकारको कृत्रिम बुद्धिमत्ता (AI) आधारित च्याटबट हो। दुई वर्षको मेहनतपछि विकसित गरिएको रोबोटलाई अझ प्रभावकारी बनाउन थप डेटा तालिम दिइने टेलिकमले जनाएको छ।
रोबोटमा रहेका सम्पूर्ण प्रविधि नेपाली इन्जिनियरहरूले तयार पारेका हुन्। यसले प्रयोगकर्ताबाट सिकेका कुरालाई तत्काल ग्रहण गरी आफूलाई निरन्तर परिष्कृत गर्न सक्ने क्षमता राख्दछ।कम्पनीले यो रोबोट विदेशी सेवाग्राहीहरूका लागि पनि उपयोगी हुने विश्वास लिएको छ। आधुनिक प्रविधिसहित तयार पारिएको मैना रोबोटले टेलिकमको सेवा थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।