काठमाडौं – प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लुबुक) गैरकानुनी रूपमा नियन्त्रणमा लिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। निवेदक विवेक चौधरीले गृह मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा प्रहरीले कानुनको सीमा नाघेको आरोप लगाएका छन्।
रिटमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ को उल्लङ्घन गर्दै प्रहरीले लाइसेन्स र ब्लुबुक नियन्त्रणमा लिएको उल्लेख छ। चौधरीका अनुसार, कानुनले जरिवाना गर्न सक्ने अधिकार दिए पनि प्रहरीले यस्ता प्रमाणपत्र नियन्त्रणमा लिन पाउने कुनै अधिकार छैन।
निवेदनमा संविधानको धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने हक) र धारा १७ (स्वतन्त्रताको हक) को उल्लङ्घन भएको दाबी गर्दै न्यायिक पुनरावलोकनको माग गरिएको छ। सर्वोच्च अदालतले चौधरीलाई बिहीबारको पेशीमा उपस्थित हुन निर्देशन दिएको छ।