काठमाडौं । ‘स्मार्ट’ भन्नासाथ के बुझ्नुहुन्छ ? अहिले समयमा जोकोहीलाई ‘स्मार्ट’ शब्द भन्नाले छोटो समयमा र सजिलो तरिकाले सेवा उपलब्ध गराउने नयाँ प्रणाली भन्ने लाग्नु स्वभाविक हो । चालक अनुमतिपत्रका हकमा भने यो कुरा ठ्याक्कै विपरित भएको छ ।
‘स्मार्ट लाइसेन्स’ अर्थात यो प्रकारको चालक अनुमतिपत्र सुरु भएपछि नागरिकले सेवा लिन (चालक अनुमतिपत्र लिन) झन ढिला र हैरानी पाएका छन् । सरकारले स्मार्ट चालक अनुमतिपत्र सुरु गरेको आठ वर्ष बित्दासमेत सेवाग्राहीले सजिलै र बिना झन्झट चालक अनुमतिपत्र पाएका छैनन् ।
छपाइका लागि आवश्यक कार्ड समयमै नआएको तथा सवारी परीक्षण कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा सेवाग्राहीले समयमै सवारी चालक अनुमति पत्र (लाइसेन्स) नपाएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले कार्डका लागि ठेक्का सम्झौता भएको जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जीएमबीएचसँग आवश्यक समन्वय हुन नसक्दा लाइसेन्स छपाइ कार्य ढिलो भएको बताए ।
“विभाग तथा विभाग मातहतका सवारी परीक्षण कार्यालयमा पर्याप्त जनशक्ति (खासगरी आईटी जनशक्ति) अभाव रहेको छ,” उनले भने, “साथै गत वर्षको फागुनमै ठेक्का सम्झौता भएको जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जीएमबीएचसँग आवश्यक समन्वय हुन नसक्दा लाइसेन्स छपाइ कार्य ढिलो भएको हो ।”
विभागको तत्कालीन व्यवस्थापन टोलीले जर्मन कम्पनीसँग आवश्यक समन्वय नगर्दा समयमै कार्ड आउन नसकेकाे उनको भनाइ छ । “कार्डका लागि सम्झौता भएको जर्मन कम्पनीको कार्ड एमएसपी प्रिन्टरले छाप्दैन भन्ने कुरा आएको थियो । त्यही लफडामा १० महिना ढिलो भयो,” उनले भने ।
आफू महानिर्देशक भएर आएपछि जोखिम लिएरै कार्ड मगाउने र प्रिन्ट गर्ने प्रक्रिया सुरु गरेकाे उनले बताए ।
गत वर्षको फागुनमा जर्मनीको म्युहलबौयर आईडी सर्भिसले १४ लाख ९८ हजार डलर (करिब १९ करोड ८५ लाख रुपैयाँ) रुपैयाँको ठेक्का पाएको थियो । त्यसैअन्तर्गत पुस अन्तिममा जर्मनीबाट पहिलो चरणमा छ लाख थान कार्ड नेपाल आइपुगेको छ । बाँकी अर्को चरणमा नेपाल आउने बताइएको छ ।
सवारी चालक अनुमति पत्र जारी, नवीकरण तथा वितरण र खारेजी सम्बन्धी सम्पूर्ण कार्य प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालयबाट हुँदै आएको छ । रिजालका अनुसार प्रदेशबाट प्राप्त विवरण अनुसार विभागले स्मार्ट कार्ड छपाइ गरी प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा पठाई सोही स्थानबाट वितरण हुने गरेको छ ।
सवारी चालक अनुमति पत्रको कार्ड छपाइका लागि विभागले सन् २०१९ मा एक थान मास प्रिन्टर खरिद गरेको थियो । उक्त मसिनले प्रति घण्टा ३५० ओटा कार्ड छाप्न सक्छ । यसका लागि प्रति दिन २४ घण्टासम्म काम गर्दा करिब सात हजार थान प्रति दिन कार्ड छाप्न सक्ने अवस्था छ ।
अहिले विभागले कार्ड अभावमा विदेश जाने नागरिकका लागि दैनिक तीन सय ओटा मात्र कार्ड छपाइ गर्दै आइरहेको छ । विभागसँग हाल स्टकमा ४६ हजार छपाइ हुन बाँकी कार्ड छन् ।