साउन १ गते अर्थात आजदेखि पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागू हुने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भोलिदेखि पुँजी बजारमा केन्द्रितकृत डिजिटल केवाईसी लागू गर्न थालेको हो।
सीडीएससीले आफ्ना सदस्यहरूलाई यसअघि नै डिजिटल केवाईसी सिस्टम परीक्षण गर्न दिएको थियो । सबैले उक्त सिस्टम परीक्षण गरिसकेपछि साउनदेखि पूर्ण कार्यान्वयनमा लैजान लागिएको हो ।
केन्द्रिकृत डिजिटल केवाईसी लागू भएपछि ब्रोकर कम्पनी, मर्चेन्ट बैंकिङमा गएर डिम्याट र ब्रोकर खाता खोल्दा पटक पटक केवाईसी बुझाउनु पर्ने झन्झट अन्त्य हुनेछ ।
अहिले डिम्याट खाता, ब्रोकर खाता खोल्दा सम्बन्धित कार्यालयमा गएर छुट्टाछुट्टै केवाईसी फाराम भर्नुपर्ने व्यवस्था छ । तर, केन्द्रितकृत डिजिटल केवाईसी सिस्टमले यो झन्झट हटाउने छ ।
केन्द्रिकृत डिजिटल केवाईसीले लगानीकर्तालाई विशेष फाइदा पुग्ने न्यौपाने बताउँछन् । ‘अहिले विभिन्न ठाउँमा गएर केवाईसी फाराम पटक पटक भर्नुपर्ने अवस्था छ,’ उनले भने,‘तर डिजिटल केवाईसी लागू भएपछि यो समस्या हट्ने छ । डिजिटल केवाईसी आईडी दिँदा पुँजी बजारका सबै सेवा लिन सक्नेछन् ।’
लगानीकर्ताले एक पटक डिजिटल केवाईसीमा आवद्ध भएपछि उनीहरूले एउटा युनिक आईडी पाउने छन् । युनिक आईडी, डिम्याट वा ब्रोकर खाता खोल्दा प्रयोग गर्न सकिन्छ ।
त्यसपछि उनीहरूले नयाँ डिम्याट खाता वा ब्रोकर खाता खोल्दा पटक-पटक आफ्नो तीनपुस्ते विवरण भर्नुपर्ने छैन । युनिक आईडी दिए मात्रै पुग्नेछ ।
पहिलो चरणमा, नयाँ डिम्याट खाता खोल्दा वा ब्रोकर खाता खोल्दा डिजिटल केवाईसी लागू गरिने उनले बताए । यसअघि भएका केवाईसीलाई पनि डिजिटलमा राखिएको छ ।
यदि पहिले नै डिम्याट खोलेका लगानीकर्ता डिजिटल केवाईसीमा जान चाहे सम्बन्धि सेवा प्रदायकमा सम्पर्क गर्न सक्ने छन् । त्यसपछि सम्बन्धित सेवा प्रदायकले ग्राहकको केवाईसी अद्यावधिक गरेर युनिक केवाईसी आईडी दिनेछ ।
तर, तपाईले एक पटक डिजिटल केवाईसीको सेवा लिइसकेपछि एउटा केवाइसी आईडी पाउनु हुन्छ । त्यो आईडी पुँजी बजारमा सेवा लिँदा प्रयोग गर्न सक्नुहुन्छ । सबै विवरण भरिरहनु परेन, केवाईसी आईडी भए पुग्छ ।
डिजिटल केवाईसी सिस्टमको पहुँच सेवा प्रदायकले पाउने छन् । डिजिटल केवाईसी लिने ग्राहकको विवरण सिधैं सिस्टममा राख्न सक्ने छन् । त्यसपछि उक्त विवरण सीडीएससीको सर्भरमा आउने छ ।
यसले गर्दा सेवा प्रदायकले पनि केवाईसी विवरण हरेक पटक सिस्टममा राखिरहनु पर्दैन । केवाईसी आईडी राखे मात्रै पुग्ने छ ।
भविष्यमा लगानीकर्ताले अनलाइनबाटै आफ्नो केवाईसी फाराम भर्न सक्ने सिस्टम तयार गरिएको न्यौपानेले जानकारी दिए । अनलाइनबाटै केवाईसी भरेपछि भेरिफाईका लागि एकपटक सम्बन्धि सेवा प्रदायककोमा भने जानु पर्नेछ ।
सुरूवाती समयमा लगानीकर्ताबाट डिजिटल केवाईसीको शुल्क नलिने योजना रहेको उनी बताउँछन् । ‘अहिले हामीले शुल्कको मोडालिटीबार छलफल गरिरहेका छौं,’ न्यौपाने भन्छन्, ‘सुरूवातमा सकेसम्म लगानीकर्ताबाट पैसा नलिने भन्नेमा हाम्रो जोड छ । तर सेवा प्रदायकबाट निश्चित शुल्क लिन सकिन्छ ।’